
हेटौंडा| नेपाल टी-२० लिगमा विराटनगर सुपर किंग्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। इलिमिनेटर चरणका खेलमा विराटनगरले काठमाडौँ नाइट्समाथि ९९ रनको फराकिलो जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।
विराटनगरले अब फाइनल प्रवेशका लागि जनकपुरसँग प्रतिस्पर्धा गर्नेछ। हारसँगै काठमाडौँ भने प्रतियोगिताबाट बाहिरिएको छ। लुम्बिनी अल स्टार्स भने फाइनलमा पुगिसकेको छ।टस जितेर पहिलो ब्याटिङ गरेको विराटनगर निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रनको उच्च स्कोर तयार गरेको थियो। ५ रन जोड्दा दुबै ओपनर गुमाए पनि विराटनगरका लागि कप्तान रोहित पौडेल र हुसेइन तलातले तेस्रो विकेटका लागि ९८ रनको साझेदारी गर्दै विराटनगरलाई उच्च स्कोरतर्फ अघि बढाएका थिए।
पौडेल ६१ रनमा आउट हुँदा हुसेइन तलात ३८ रनमा आउट भए। उसलाई उच्च स्कोरमा पुर्याउन विवेक यादवले विष्फोटक ब्याटिङ गरेका थिए।
विवेकले १८ बलमा ४६ रनको नटआउट इनिङ खेले। काठमाडौँका लागि कमल ऐरी र अनिल खरेलले समान २-२ विकेट लिएका थिए।१ सय ८३ रनको विशाल स्कोर पछ्याएको काठमाडौँ भने खराब प्रदर्शनको सिकार भयो। काठमाडौँ १२.४ ओभरमा नै अलआउट हुँदै ८३ रनमा समेटियो। उसका केवल ४ खेलाडीले मात्र दोहोरो रनको स्कोर बनाएका थिए।
उसका लागि अभिनाश बोहोराको १६ रन सर्वाधिक रह्यो। उनीबाहेक ओपनर लोकेश बमले १३ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १५ रन जोडेका थिए। थप दोहोरो स्कोरका रूपमा कमल ऐरीको १० रन रह्यो।
काठमाडौँ आफ्ना सबै विदेशी खेलाडी हिँडेपछि नेपाली खेलाडीको भरमा मैदानमा उत्रिएको थियो। काठमाडौँलाई सस्तैमा समेट्न सूर्य तामाङले ४ विकेट लिँदा शहाव आलम र कियोन जोसेफले २-२ विकेट लिए।

