गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिने

हेटौंडा टुडे
२९ पुष २०७९, शुक्रबार ११:४९

हेटौंडा| गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री अधिकारीले आज अपराह्न १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तय भएको गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ ।

नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

अधिकारीले गठबन्धनका तर्फबाट ३३ सांसदको समर्थनसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरेपछि उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।

अधिकारीलाई एमालेका २२, नेकपा माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र निर्वाचित राजीव गुरुङले समर्थन गरेका छन् ।

मुख्यमन्त्री अधिकारी विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने र बिनाविभागीय मन्त्रीको मन्त्रालय तय गर्ने योजनामा छन्।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image