
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिदैछन् । मूख्यमन्त्री नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएकाले त्यस अगावै उनले विश्वास मत लिने भएका छन् । आज विश्वासको मत लिनेबारे यसअघि नै प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकिएको छ । मूख्यमन्त्री नियुक्त हुँदा सानो आकारको मन्त्रीमण्डल गठन गरेका उनले आज विश्वासको मत लिने र त्यसपछि मन्त्रीमण्डल विस्तारको रणनीति लिएका छन् । जम्कट्टेल नेकपा एमाले, नेकपा माओवादी, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
समर्थनमा रहेका एमालेको २७, माओवादी २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७ र नेपाली पार्टीको २ सांसद गरि ७० सांसद छन् । ११० सांसद रहेको प्रदेशसभामा उनलाई विश्वासको मत पाउन ५६ सांसद भए पुग्छ । बागमती प्रदेशको प्रदेशसभा बैठक दिउँसो १२:३० बजे बोलाईएको छ ।

