हेटौंडा| तामाङ पत्रकार संघ मकवानपुर र ल्होछार मेला आयोजक मुल समारोह समिति सांगे छ्योइफेल गुम्बाको संयुक्त आयोजना मनहरीमा २८५९ ह्योई/तावार ल्हो (बिरालो बर्ग) सोनम ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन मार्फत पत्रकार संघका अध्यक्ष जयराम मोक्तानले ल्होछार संस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित बुद्धशान्ति पार्क परिसरमा यहि माघ ८ गते सोनाम ल्होछारको दिन हुने सोनाम ल्होछार मेला तथा बृहत साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ । कार्यक्रममा तामाङ कलाकारहरुको गायन, नृत्य, तामाङ भेषभुषा र खानाका स्टलहरु र तामाङ संस्कृति र ल्होछार पर्वको सन्देशमुलक प्रवचन रहने उहाँले बताउनुभयो।
कार्यक्रममा कलाकारहरु हरी योञ्जन, सुन्दर लामा, रविन कुमार चेपाङ, प्रकाश तामाङ र उर्मिला प्रजाले प्रस्तुति दिनुहुने बताएको छ । यस्तै ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिने जानकारी दिनुभयो। ल्होछार मेला आयोजक मुल समारोह समितिका संयोजक सुरेश मुक्तानले तामाङ जातिको संस्कार संस्कृति, भेषभुषा र भाषाको संरक्षणका लागि ल्होछार पर्व मनाउन लागिएको बताउनुभयो । उहाँका अनुसार ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता तथा तामाङ समुदायबीच जागरण ल्याउन उक्त कार्यक्रमले सहयोग पुग्ने दावी छ ।
यसैगरी, तामाङ पत्रकार संघ बागमती प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र तामाङले तामाङ समुदाय सांस्कृतिक संघर्ष कै क्रममा रहेको बताउनुभयो । भाषा र भेषभुषाले राष्ट्रिय मन्यता नपाइरहेको अवस्थामा सांकृतिक पहिचानबारे उठन गर्न यस्ता कार्यक्रम जरुरी रहेको उहाँको धारण छ । पत्रकार सम्मेलनमा, मनहरी-७ का वडाध्यक्ष ठाकुर तितुङ, सांगे छ्योइफेल गुम्बा अध्यक्ष गौतम लामा, बुद्दिजिबि खुसीलाल मोक्तान, सुरेश लामा लगायतको उपस्थिति रहेको थियो ।