हेटौंडा| मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा आज सोमबार बाल गायक अशोक दर्जी र संगीतकार तथा गायक टंक बुढाथोकी आउने भएका छन् । उनीहरुको साथै गायिका मञ्जु पौडेल, कलाकार सुलेमान शंकर (ईकु) र बेली डान्सर अस्मिता पुरीको जोडदार प्रस्तुती रहने भएको छ ।
सोमबार दिउँसो महोत्सवमा उनीहरुले धमकेदार प्रस्तुती दिने जनाइएको छ । आइतबार गायक रमेशराज भट्टराई, स्याण्डअप कमेडियन सीता न्यौपाने र गायिका सहिमा श्रेष्ठले आफ्नो प्रस्तुती दिएका थिए ।
भोली मंगलबार महोत्सवमा अस्मिता अधिकारी, खेम सेन्चुरी, कमेडियन प्रभात लामाको प्रस्तुती रहनेछ । साथै महोत्सवमा हरेक दिन मकवानपुरका स्थानीय कलाकारहरुको समेत आफ्नो कला प्रस्तुती रहनेछन् । महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगितामा पनि दैनिक भइरहेको छ ।
११ गतेबाट सुरु भएको महोत्सव माघ २३ गते सम्म सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न किसिमका वस्तु विक्री तथा प्रदर्शन,बाल उद्यान, साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार, निशुल्क स्वास्थ्य शिविरहरु महोत्सवमा रहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।
महोत्सवमा आइतबार निशुल्क स्वास्थ्य शिविरमा सञ्चो हस्पिटलका डा. सचिन दासले स्वास्थ्य परिक्षण गरेका थिए । आज सोमबार पनि सञ्चो हस्पिटलबाट आउने विशेषज्ञबाट निशुल्क स्वास्थ्य परिक्षण गरिने जनाइएको छ ।