
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा शैक्षिक मेला तथा सांस्कृतिक कार्यक्रम–२०७९ को हुने भएको छ । मेलाको बारेमा मंगलबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।
४ नम्बर वडा भित्रका विद्यालय, हेटौंडा क्याम्पस र म्यानेजमेन्टको स्टल रहेने मेलामा सामुदायिक तथा संस्थागत विद्यालयवीच प्रतिस्पर्धा, शैक्षिक अध्ययन तथा गुणस्तर सुधार एवम् विद्यार्थीको सिर्जनशील प्रतिभाको उजागर गरिने वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।
अध्यक्ष सिग्देलका अनुसार वडाभित्रका प्रत्येक विद्यालयबाट बढीमा १० जनाको समूहले निर्माण गरेको विज्ञान, गणित तथा सामाजिक विषयसँग सम्बन्धित सामग्रीहरुको प्रदर्शनी गरिनेछ । मेलाको करिब दशहजार विद्यार्थी तथा अभिभावकले अवलोकन गर्ने अध्यक्ष सिग्देलले बताए ।
उनले मेलामा प्रस्तुत गरिने प्रतियोगितात्मक सामूहिक नृत्य र एकल गायन सहितका विभिन्न विधाका उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरुलाई पुरस्कारको समेत व्यवस्था गरिएको बताए । कार्यक्रमको सम्पूर्ण खर्च वडा कार्यालयले व्यहोर्ने पनि अध्यक्ष सिग्देलले जानकारी दिए ।
यस्तै शैक्षिक गुणस्तर सुधार समितिका श्रीराम दहालले एक विद्यालयको राम्रो अभ्यास र अनुभवबाट अर्को विद्यालयले सिकाई गरी शैक्षिक सुधार हुने अपेक्षाका साथ शैक्षिक मेला आयोजना गर्न लागिएको बताए ।

