
हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा आज विहीबार चर्चित गायिका प्रिति आले , गायक कृष्ण काफ्ले, हेमन्त शर्मा र डान्सर करिस्मा ढकाल आउने भएका छन् । युवा पुस्तामा चर्चित रहेकी गायिका आलेको व्याटल गीत चर्चामा रहेको छ । महोत्सवमा हास्यकलाकार शिवहरि नेपाल र कमेडियन अस्मिताको प्रहशन समेत रहने आयोजकले जनाएको छ । यस्तै नेपाली लोक संगीतिकको म्युजिक भिडियोमा रुचाईएकी मोडल तथा डान्सर करिश्मा ढकाल लगायतका कलाकारले आफ्नो प्रस्तुती दिने महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले बताए ।
भोली शुक्रबार चर्चित व्याण्ड कर्मा व्याण्डको प्रस्तुती रहनेछ । साथै महोत्सवमा हरेक दिन मकवानपुरका स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत भइरहेको छ । महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगितामा पनि भइरहेको छ ।
११ गतेबाट सुरु भएको महोत्सव माघ २३ गते सम्म सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न किसिमका वस्तु विक्री तथा प्रदर्शन,बाल उद्यान, साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार, निशुल्क स्वास्थ्य शिविरहरु महोत्सवमा रहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।

