
हेटौडा । आगामी चैत्र १७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसईई को लागि मकवानपुरमा परीक्षा केन्द्र तोकिएको छ । एसईईको लागि जिल्लामा २५ केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ ।
इकाईका अनुसार जिल्लाको ८ वटा पालिकामा एसईईको परीक्षा केन्द्र कायम हुँदा २ वटा पालिकामा परीक्षा केन्द्र तोकिएको छैन । हेटौंडा उपमहानगरपालिकामा १४ वटा र अन्य ७ पालिकामा ११ वटा विद्यालयलाई परीक्षा केन्द्र कायम गर्दा राक्सिराङ र कैलाश गाउँपालिकाको कुनै पनि विद्यालयलाई केन्द्र नतोकिएको हो ।
इकाई मकवानपुरका अनुसार बागमतीमा १, हेटौंडामा १४ वटा, मनहरीमा २ , थाहानगरमा ३ , मकवानपुरगढीमा १, बकैयामा २ , भीमफेदीमा १ र इन्द्रसरोवरमा १ वटा परीक्षा केन्द्र तोकिएको हो । राक्सिराङ र कैलाश गाउपालिकामा भौतिक पूर्वाधारको अभावका कारण परीक्षा केन्द्र नतोकिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिनानाथ गौतमले बताए ।
बागमतीको जनता माध्यमिक विद्यालय, मनहरीको राष्ट्रिय रोटरी माध्यमिक विद्यालय र महेन्द्र किरण माध्यमिक विद्यालय, बकैयाको महेन्द्र माध्यमिक विद्यालय र बुद्व माध्यमिक विद्यालय, थाहा नगरपालिकाको मच्छेनारायण माध्यमिक विद्यालय र जनकल्याण माध्यमिक विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ ।
यस्तै मकवानपुरगढी गाउँपालिकाका जाल्पादेवी माध्यमिक विद्यालय, भीमफेदी गाउँपालिकाको महेन्द्र माध्यमिक विद्यालय र इन्द्रसरोवर गाउँपालिकाको सरस्वती बालबोधिनी माध्यमिक विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ ।
जिल्लाका १ सय सामुदायिक र ३८ वटा संस्थागत गरी १ सय ३८ वटा विद्यालयमा १० कक्षामा अध्ययनरत बिद्यार्थीहरुले एसईईका परीक्षा आवेदन फराम भरेका हुन । गत वर्षको तुलनामा मकवानपुरबाट एसईईको परीक्षा आवेदन फराम भर्ने परीक्षार्थीको संख्या यसवर्ष करिब एक हजार जना घटेका छन् ।

