हेटौंडा| शाहरुख खान अभिनित फिल्म ‘पठान’ले भारतीय बक्स अफिसमा ‘सपनाको दौड’ गर्दैछ । यो गति सुस्त हुने संकेत देखिएको छैन । ट्रेड एनालिस्ट रमेश बालाका अनुसार रिलिजको नवौं दिनमा पठानले विश्व बक्स अफिसमा ७०० करोडको आँकडा पार गरेको छ । फिल्मले दोस्रो बिहीबार १५ करोडदेखि १६ करोड भारु कमाउन सकेको छ ।
फिल्मले बुधबार भारतीय बक्स अफिसमा ५५ करोड भारुको ओपनिङ गरेको थियो । हप्ताको मध्यमा रिलिज भएदेखि यसले पाँच दिनको विस्तारित सप्ताहन्तको मज्जा लियो । त्यो समयमा विश्वव्यापी रूपमा ५०० करोड भारुको आँकडा पार गर्न सक्यो । हिन्दी फिल्मको इतिहासमा ओपनिङ विकेन्डमा सर्वाधिक कमाउने फिल्म समेत बन्यो । सिद्धार्थ आनन्दद्वारा निर्देशित ‘पठान’ले अझै ‘केजीएफ ः च्याप्टर २’ र ‘बाहुबली २’को कीर्तिमानलाई अझै तोड्न सकेको छैन ।
पठानले ‘दंगल’को रेकर्ड तोड्ने क्रममा छ । पठानको कमाइ भारतमा अहिलेसम्म ३८७.३८ करोड (नेट) छ । पठान यशराज ब्यानरको नवस्थापित जासूसी ब्रह्माण्डमा आधारित छ । यसअघि यो युनिभर्समा एक था टाइगर, टाइगर जिन्दा है र वार फिल्म बनिसकेका छन् ।
‘पठान’मा सलमान खान टाइगरको भूमिकामा छन् । फ्यानले पठानमा ऋतिक पनि हुने आशा राखेका थिए तर त्यस्तो भएन । यसबारे निर्देशक सिद्धार्थ आनन्दले भने, ‘हामीले ऋतिक वा अन्य कुनै अभिनेतालाई पनि बोर्डमा राख्न सक्थ्यौं, तर सलमान र शाहरुखलाई फिल्ममा एक्सन गर्ने कुरा यसअघि भएको थिएन । मलाई लाग्छ, अन्तिम पटक जब उनीहरु सँगै एक्सन गरिरहेका थिए भने सन् १९९६ मा करण अर्जुनसँग थियो ।’
साथै दीपिका पादुकोण र जोन अब्राहम अभिनित पठान भारतीय हलमा दोस्रो सातामा चलिरहेको छ । यस सप्ताहन्तमा ठूला फिल्म रिलिज नभएपछि पठानकै गतिले निरन्तरता पाउनेछ । शाहरुखको सम्मानकै लागि भनेर कार्तिक आर्यनले ‘शाहजादा’को प्रदर्शन मिति पछि सारिसकेका छन् । अब यो फिल्म फेब्रुअरी १७ मा रिलिज हुनेछ ।