
हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मिडिया र संचार जगत समाजको ऐना भएको बताएका छन्।नेपाल पत्रकार महासंघ बागमती प्रदेशको आज सुरु भएको तेस्रो साधारणसभालाई दोलखाको जिरीमा पुगेर उद्घाटनका क्रममा यसो बताएका हुन।
साधारणसभाको उद्घाटनलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले मिडिया र संचार जगत ऐना भएको र यसले समाजमा देखिएका सकारात्मक र नकारात्मक ऐना जस्तै छर्लङ्ग पर्न सक्ने बताए।
मुख्यमन्त्री जम्कट्टेलले देशमा आमुल परिवर्तन न सङ्घीयता बलियो बनाउन संचार क्षेत्रको भुमिका महत्वपूर्ण रहेको भन्दै आफु बागमती प्रदेशको प्रथम सरकार गठन भएर कानुन मन्त्री रहदा संचार रजिष्ट्रार कार्यालय स्थापना गरी पत्रकार र पत्रकारिताको हक हितका लागि आवश्यक कदम चालेको सुनाए ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भने श्रमजीवी पत्रकारहरु सामाजिक सुरक्षा कोषमा आवद्ध रहनुको फाइदा धेरै छ,त्यसैले बागमती प्रदेशका श्रमजीवी पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन मेरो नेतृत्व बागमती प्रदेश सरकारले ५० लाख सहयोग गर्नेछू।उनले नेपालको स्विट्जरल्यान्ड मानिने जिरीको समग्र विकासका लागि स्थानीय सरकार सहितलाई सहयोग हुनेगरी आवश्यक बजेट समन्वय गर्ने समेत उदघोष गरेका छन्।
माघ २१ गते दुईदिन सम्म चल्ने साधारणसभामा १०० भन्दा बढी प्रदेश पार्षदको सहभागिता रहेको छ। नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाको साधारणसभामा भएको कार्यक्रममा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री गंगाराम श्रेष्ठ,नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, बागमती प्रदेशका संचार रजिष्ट्रार रेवती प्रसाद सापकोटा, दोलखाका स्थानीय तहका प्रमुख,दोलखाका प्रमुख जिल्ला अधिकारी शेखर पौडेल, प्रेस युनियन,प्रेस चौतारी,प्रेस संगठन,समाजवादी प्रेस संगठनका केन्द्रीय प्रतिनिधी,प्रदेश संयोजक र प्रतिनिधिहरुको शुभकमान मन्तव्य ब्यक्त गरेका थिए।

