हेटौंडा|राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन आज मनोनयन दर्ता हुँदैछ । संघीय संसद् सचिवालयका अनुसार, अपराह्न १ बजेदेखि ४ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।
संघीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाका अनुसार, ४ः१५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएको लामो समयसम्म उपाध्यक्ष पद खाली रहेको थियो । राष्ट्रिय सभाको अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना रहेकाले उपाध्यक्ष महिला हुनुपर्नेछ ।
राष्ट्रिय सभा उपाध्यक्षमा विपक्षी गठबन्धनको तर्फबाट कांग्रेसले उम्मेदवारी दिने तयारी गरेको छ । राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि कांग्रेसले कमला पन्त र दुर्गा गुरुङमध्ये एकलाई उम्मेदवार बनाउने तयारी गरिएको छ । उनीहरु दुईमध्ये राष्ट्रिय सभाको उपाध्यक्षमा कस्ले उम्मेदवारी दिने भन्ने बारे आज टुंगो लाग्ने भएको छ ।
यस्तै, सत्ता गठबन्धनले पनि आजै उम्मेदवार तय गर्ने तयारी गरेको छ ।