हेटौंडा । यही माघ २८ गतेबाट फागुन १० गतेसम्म सञ्चालन हुने पाँचौ संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा १२ टिमको सहभागिता रहने भएको छ ।
आयोजक मकवानपुर जिल्ला फुटबल संघले विहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै गत बर्ष झैं यस संस्करणमा पनि १२ वटा क्लवको सहभागिता रहने जानकारी दिएको हो ।
हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल प्रदान गरिनेछ ।
आयोजक संघका अध्यक्ष टीकाराम लामाका अनुसार विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।