चिकित्सकको आन्दोलन फिर्ता

हेटौंडा टुडे
२९ माघ २०७९, आईतवार १३:००

हेटौंडा | नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय फिर्ता लिएको छ।

ट्रमा सेन्टरमा कार्यरत डा. जेनिथलाल सिंहलाई कुटपिटको विरोध गर्दै चिकित्सक संघले आन्दोलन घोषणा गरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी संसद्मा सम्बोधन गर्न जाने क्रममा शुक्रबार ड्युटीमा रहेका वरिष्ठ प्रहरी हवल्दार शम्भु गुरुङले राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा. सिंहलाई कुटेपछि चिकित्सक आन्दोलनमा उत्रिएका थिए। प्रहरी हवल्दार गुरुङ हाल निलम्बनमा छन्।

नेपाल सरकारद्वारा गठित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा स्वास्थ्य तथा जसङख्या मन्त्रालयका प्रतिनिधि सहितको वार्ता टोली र संघका पदाधिकारीबीच ६ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता गरिएको हो।

सरकारले घाइते चिकित्सकको उपचारको व्यवस्था गर्ने, विशिष्ट व्याक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवं आम नागरिक र विशेषगरि स्वास्थ्य संस्था, विद्यालय लगायत संवेदनशील संस्था तथा क्षेत्रमा असहजता नहुने गरि सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ मा गर्नुपर्ने परिमार्जन सम्बन्धमा नेपाल सरकार समक्ष एक साताभित्र सुझाव पेश गर्ने सहमति भएको छ।

त्यस्तै, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी एेन, २०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरुक्षा सम्बन्धी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने लगायतका सहमति गरेर आन्दोलन टुंगिएको छ। यससँगै चिकित्सकहरू काममा फर्किएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*