अनेरास्ववियुको केन्द्रीय सचिवमा मकवानपुरबाट विद्यार्थी नेता सन्तोष पौडेलको उम्मेदवारी

हेटौंडा टुडे
२९ माघ २०७९, आईतवार १५:२१

हेटौंडा । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेशनमा केन्द्रीय सचिवमा मकवानपुरबाट विद्यार्थी नेता सन्तोष पौडेलले उम्मेदवारी दिने घोषणा गरेका छन् । यसअघि स्थायी कमिटी सदस्य रहेका पौडेलले फागुन २ गतेदेखि ४ गतेसम्म हुन लागेको महाधिवेशनमा केन्द्रीय सचिवमा आफुले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

हेटौंडाको सिद्धार्थ माविबाट अनेरास्ववियुमा संगठित भएर २०६१ सालदेखि विद्यार्थी राजनीतिमा लगेका उनी २०६३ सालमा अनेरास्ववियु नगर कमिटी हेटौंडाको सदस्य ,२०६५ सालमा मकवानपुर बहुमुखी क्याम्पस कमिटीको सचिव , २०६६ सालमा मकवानपुर बहुमुखी क्याम्पस तथा नगर कमिटीको अध्यक्ष भएका थिए । उनी २०६७ सालमा अनेरास्ववियु मकवानपुरको २३औँ जिल्ला सदस्य, २०६८ मा भएको २४औँ जिल्ला सम्मेलनबाट कोषाध्यक्ष, २०६९ मा २५औँ जिल्ला सम्मेलनबाट उपाध्यक्ष एवं २०७१ मा भएको २६औँ जिल्ला सम्मेलनबाट जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए ।

यस्तै यसअघि भएको २२औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका पौडेल २०७७ सालमा अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य भएका थिए । नेपाल खुल्ला विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमफिल गरिरहेका पौडेल २०७८ असोजदेखि स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश सह-इन्चार्जको जिम्मेवारीमा रहेका छन् ।

बागमती प्रदेश सह-इन्चार्जको जिम्मेवारी प्राप्त गरे पश्चात उनले अनेरास्ववियु केन्द्रीय कमिटिको निर्देशन अनुसार प्रदेश राजधानीमा निर्धारित आन्दोलनहरुको नेतृत्व गरेका थिए । त्रिभूवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा एम ए, नेपाल ल क्याम्पशबाट कानुन संकायमा स्नातक तथा मकवानपुर बहुमुखी क्याम्पसबाट अंग्रेजी र पत्रकारितामा स्नातक गरेका पौडेलले अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको सचिवमा उम्मेदवारी दिने भएका हुन् ।

‘निःशुल्क स्वास्थ्य, शिक्षा र पूर्ण रोजगार, समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मूल नारासहित काठमाडौंमा हुन लागेको महाधिवेशनले १७ जना पदाधिकारी सहित १९९ सदस्यीय केन्द्रीय कमिटी र लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोगका अध्यक्ष र सचिव गरी १५/१५ सदस्यीय कमिटी गठन गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*