हेटौंडा । वीरगञ्ज युनाइटेडलाई हराउँदै क्यामरुनको एभिनियर एफसी हेटौंडामा जारी पाँचौ सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । बुधबार भएको खेलमा एभिनियरलाई वीरगञ्जसँग २–० को जित निकालेको हो ।कप्तान यानिक योआनाले ३९ औं मिनेटमा गोल गर्दै एभिनियरलाई अग्रता दिलाएका हुन् । टिम्बा टिम्बाले मिलाइदिएको पासलाई उनले गोलमा परिणत गरेका हुन् । ७४ औं मिनेटमा साबाले अग्रता दोब्बर पारे ।
टिम्बा टिम्बाको स्थानमा मैदान प्रवेश गरेको दोस्रो मिनेटमै उनले गोल गरेका हुन् । बोयोमिको प्रहारमा रिबाउण्ड आएको बललाई उनले सहजै गोल गरेका हुन् । पहिलो हाफमा कमजोर देखिएको वीरगञ्जले दोस्रो हाफमा निकै सुधारिएको खेल प्रश्तुत गर्दै दर्शकको मन जितेपनि गोल भने गर्न सकेन ।
२४ औं मिनेटमा वीरगञ्जका कृपा चौधरीको फ्रिकिक प्रहारलाई एभिनियरका गोलरक्षक टासोह अलाइनले बचाए । २८ औं मिनेटमा यानिकको प्रहार वीरगञ्जका गोलरक्षक प्रमिजय गच्छादारले कठिनका साथ बचाए । ५५ औं मिनेटमा तीन डिफेण्डरलाई छलाउँदै कृपाले फितलो प्रहार गर्दा बराबरी गर्नबाट चुके ।
७२ मिनेमा कृपाकै फ्रिकिकलाई एभिनियरका गोलरक्षक अलाइनले मुस्किलले बचाए । पहिलो खेलमा एनआरटीलाई हराउँदै उच्च मनोबल बनाएको वीरगञ्जले खेलको अन्तिमतिर केही राम्रा मुभ बनाएपनि खेलमा फर्किन सकेन । खेलको म्यान अफ द म्याच वीरगञ्जका उमेश कार्की घोषित भए । उनले नगद १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।
जारी प्रतियोगितामा बिहीबार त्रिभुवन आर्मी फुटबल क्लव र सशस्त्र प्रहरीको एपिएफबीच खेल हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजना एवम् यहाँका स्थानीय तहसहित विभिन्न संघसंस्थाको सहयोगमा जारी प्रतियोगिताको यही फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड ९बुलेट मोटरसाइकल० प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।