हेटौंडा| मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित बुधबार पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौडा उप महानगरपालिका वडा नं. १९ बस्तिपुर स्थित भित्री सडकखण्डबाट ४५ किलो ६० ग्राम गाँजासहित पाँच जनालाई पक्राउ गरेको हो ।
मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, कुवापानी तर्फबाट बस्तिपुरतर्फ आउँदै गरेको बा २१ च ९३२६ नम्वरको क्रेटा कार र ना २१ प १०९० नं. को मोटरसाईकललाई रोकी चेकजांच गर्ने क्रममा सो कार भित्र लुकाइ ल्याएको सो परिमाणको गाँजा बरामद भएपछि उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कार चालक पर्साको बहुदरमाई नगरपालिका वडा नम्वर ४ बस्ने २० वर्षीय ब्रजेश कुमार तेली, कारमा सवार सोही नगरपालिका–९ बस्ने ४० वर्षीय नैमोदिन देवान, १९ वर्षीय छोटु गुप्ता कलुवार, सोही नगरपालिका– ७ बस्ने २२ वर्षीय सन्तु राउत कुर्मी र हेटौडा उपमहानगरपालिका–१९ बस्ने १९ वर्षीय नवराज थिङ रहेका छन् ।
उनीहरुलाई विशेष सूचनाको आधारमा प्रहरी चौकी लेवट मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरी बरामद गाँजा, कार र मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।