हेटौंडा|भारतको मुम्बईमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको छ ।
सांसद डा भण्डारीको गत बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ । मुम्बईमै रहेका कांग्रेस नेता योगराज कँडेलका अनुसार हाल भण्डारीका सबै अंगले सामान्य रुपमा काम गरिरहेका छन् ।
त्यस्तै भण्डारीलाई अहिले अक्सिजन दिन छोडिएको छ भने यस अघि घटिरहेको प्लेटलेट्सको मात्रा पनि बढिरहेको छ । कँडेलले भण्डारीको स्वास्थ्य अवस्था सामान्य हुदै गएको समेत जानकारी दिएका छन् ।
फागुन ३ गते राति आफ्नो निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन् । आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो ।
भण्डारीलाई फागुन ४ गते बिहीबार श्रीएयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो ।