हेटौंडा|सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दै छ।
माओवादी केन्द्रीय कार्यालयमा आज अपराह्न ४:३० बजे बस्ने बैठकमा राष्ट्रपति निर्वाचनका सम्बन्धमा छलफल हुने कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए।
बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहालले अहिलेसम्म भइरहेका छलफलको जानकारी गराउने उपाध्यायले बताए। “राष्ट्रपति निर्वाचनका लागि मनोनयन गर्न पाँच दिन बाँकी छ, सोही सन्दर्भमा अध्यक्षले बैठकबाट ‘म्यान्डेड’ लिन खोज्नुभएको हो”, उनले भने, “बैठकमा राष्ट्रपतिको निर्वाचनबारे छलफल हुन्छ।”
राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन गर्ने दिन नजिकिँदै जाँदा दलहरू आन्तरिक छलफलमा जुटिरहेका छन्। माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिनुपर्ने बताउँदै आइरहेको छ। यही फागुन १३ गते राष्ट्रपति निर्वाचनका लािग मनोनयन तोकिएको छ।
सेयर गर्नुहोस्