
हेटौंडा|सन्दीप लामिछानेले उच्च अदालतको आदेशविरुद्धमा क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने माग राख्दै दायर गरेको मुद्दाको अन्तिम फैसला आज हुने भएको छ ।
शुक्रबार सर्वोच्च अदालतबाट आदेश नआएपछि आजका लागि अन्तिम सुनुवाइ तोकिएको थियो । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सन्दीपले विदेश जान पाऊँ भन्दै दिएको निवेदन र उनलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलको कार्यालयले दायर गरेको पुनरावलोकन निवेदनलाई एकसाथ पेस गर्न आदेश दिएको थियो ।
लामिछाने बिहीबार सर्वोच्च अदालत पुगेका थिए । धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक बुँदाहरू हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । तर, यसअघि नै सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सरकार सर्वोच्च अदालत पुगेको थियो ।
गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपसँग २० लाख रुपैयाँ धरौटी लिई तारेखमा रिहा गर्ने आदेश दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीशहरू ध्रुवराज नन्द र रमेश ढकालको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म विदेश जान रोक लगाउने सहितका सर्तहरू राखेर धरौटीमा छाड्ने आदेश दिएको थियो । त्यस लगत्तै पुस २९ गते २० लाख रुपैयाँ धरौटी राखेर लामिछाने रिहा भएका थिए ।
शुक्रबारको सुनुवाइमा सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ताद्वय मुरारी प्रसाद सापकोटा र सरोजकृष्ण घिमिरेले बहस गरेका थिए ।

