हेटौंडा । हिजो आइतबार फागुन शुक्ल पूर्णिमाका दिन हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइएको होली पर्व आज तराइका जिल्लाहरुमा मनाइदै छ ।
पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व तराई–मधेसमा भने प्रतिपदाका दिन मनाउने परम्परा छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश बोकेको फागु पर्व परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने परम्परा छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली अर्थात फागु खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाइन्छ । तराईका जिल्लाहरुमा होली पर्व आज मनाइँदै छ ।
फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्षका साथै राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना दिएका छन् ।