हेटौंडा |बैंकको चर्को व्याज र ज्यादती विरुद्धको आन्दोलनलाई सहयोग गरौं भनी भोली आइतबारबाट बैंकमा नगद जम्मा नगर्न सबैलाई आग्रह गरिएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघ, संघमा आवद्ध वस्तुगत संघहरु, निर्माण व्यवसायी संघ, नारायणी यातायात व्यवसायी संघ, होटल एशोसिएसन मकवानपुर लगायत विभिन्न व्यवसायीक संघहरुले हेटौंडामा चरणबद्ध आन्दोलन गरिरहेका छन् ।
शान्तिपूर्ण आन्दोलनका कार्यक्रम प्रदेश स्तरीय समेत गरिसकेको अवस्थामा शुक्रबार सम्म बैंकमा धर्ना दिने कार्यक्रम समेत गरेको छ ।
चरणबद्ध आन्दोलन अन्तरगत भोली २८ गते आइतबारबाट कुनैपनि बैंकमा नगद जम्मा नगरौं भनी सबैलाई आग्रह गरिएको छ । आर्थिक मन्दीले ग्रस्त उद्योग÷व्यवसाय क्षेत्र र सर्वसाधारणलाई थप पीडा दिन बैंकहरुले व्याजदर वृद्धि गरेको प्रति आन्दोलन गर्न बाध्य भएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताए ।
आइतबार नगद जम्मा नगर्ने, सोमबारबाट सम्पूर्ण बैंकिङ कारोबार बन्द गराउने र ३० गतेदेखी शान्तिपूर्ण रुपमा बैंक बन्द गराउने कार्यक्रमहरु रहेको अध्यक्ष गुप्ताले बताए ।