अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताको तयारी पूरा

हेटौंडा टुडे
२९ फाल्गुन २०७९, सोमबार ११:००

हेटौंडा | मंगलबारबाट हुने अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताको सबै तयारी पूरा भएको छ । मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष दीपेश जोशीले हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएका हुन् ।

मकवानपुर जिल्ला बक्सिङ संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा हुने प्रतियोगिताको बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा २३ जिल्लाबाट ३७ वटा क्लबका १ सय ७८ जना खेलाडीहरु सहभागी हुने अध्यक्ष जोशीले बताए । जसमा २८ जना महिला खेलाडी रहनेछन् । प्रतियोगितामा १७ वर्षदेखि २१ वर्ष उमेरसम्मका खेलाडीले सहभागिता जनाउने छन् ।

नोभिस प्रतियोगिता सहभागी खेलाडीको पहिलो औपचारिक प्रतिस्पर्धाको रुपमा रहनेछ । प्रतियोगितामा सहभागी खेलाडीहरुले १६ विधामा प्रतिस्पर्धा गर्नेछन् । जसमा पुरुषतर्फ ९ र महिलातर्फ ७ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा मकवानपुरका ७ जना खेलाडीले सहभागिता जनाउनेछन् । विधागत प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यसैगरी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट महिला र पुरुष खेलाडी, उत्कृष्ट टिम, उत्कृष्ट रेफ्री र बेष्ट लुजरलाई ३ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image