हेटौंडा| स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनका नजिकिँदै जाँदा त्रिभुवन विश्वविद्यालयका आङ्गिकतर्फका ८ क्याम्पसमा भने निर्वाचन प्रक्रिया रोकिएको छ ।
देशभरका क्याम्पसमा गत फागुन २७ गते उम्मेदवारको मनोनयन भएपनि ८ आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध हुन गएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।
उनका अनुसार, काठमाडौं उपत्यकामा त्रिचन्द्र क्याम्पस, विश्वभाषा क्याम्पस र आयुर्वेद क्याम्पस तथा उपत्यकाबाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, सिद्धनाथ विज्ञान बहुमुखी क्याम्पस महेन्द्रनगर, धवलागिरि क्याम्पस बागलुङ र वीरेन्द्र क्याम्पस चितवनमा निर्वाचन प्रक्रिया अवरुद्ध भएका छन् ।
हाल अबरुद्ध भएको क्याम्पसको भर्ना विवाद हल गरेर निर्वाचन प्रक्रिया अगाडि बढाउन क्याम्पस प्रमुखहरुलाई निर्देशन दिइसकेको छ । देशैभरीका अन्य क्याम्पसमा भने उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएर निर्वाचन प्रक्रिया अघि बढिरहेका छन् ।