
हेटौंडा| कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) मकवानपुरको आयोजनामा भोलि (बिहीबार, चैत २)देखि हेटौँडामा बागमती स्तरीय आइकन सफ्ट क्यान इन्फोटेक २०२३ हुने भएको छ ।
क्यान महासंघ मकवानपुर जिल्ला शाखाले २०६३ सालदेखि ६ पटक इन्फो(टेक अथवा सुचना प्रविधि प्रदर्शनी आयोजना गरिसकेको जनाएको छ। यसपटक पनि त्यसैको निरन्तरतासहित बागमती स्तरीय आइकन सफ्ट क्यान इन्फोटेक २०२३ को आयोजना गरेको हो ।
चैत्र २ गतेदेखि सुरु भएर ६ गतेसम्म रोयल पार्टी प्यालेसमा चल्ने यस प्रदर्शनी कार्यक्रममा राष्ट्रिय स्तरको रोबोटिक प्रतियोगितात्मक प्रर्दशनी गरिने भएको छ । यस्तै प्रदर्शनीमा पब्जी टिडिएम गेमिङ टुर्नामेन्टसमेत रहेको छ । यसका लागि फागुन ३० गते मंगलबारसम्म रजिष्ट्रेसन खुला गरिएको थियो ।
यसका साथै प्रदर्शनीमा विभिन्न विद्यालयहरुले नवीनतम सिर्जनाहरु प्रस्तुत गर्ने छन् । आइकन सफ्ट प्रालि मुख्य प्रायोजक तथा एम बैंक सहप्रायोजक रहेको यो प्रर्दशनीको उद्घाटन कार्यक्रममा वाग्मती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहने बताइएको छ ।

