हेटौंडा| उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिनका लागि बोलाइएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ ।
शुक्रबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक निर्वाचन आचारसंहिता लगायतका कारण स्थगित भएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।
निर्वाचन आयोगले बिहीबार एक सूचना जारी गर्दै उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको भन्दै दलहरुलाई कुनै प्रकारको बैठक, छलफल, अन्तरक्रिया र सभा समारोह गर्न रोक लगाएको थियो ।
राष्ट्रपति निर्वाचनमा रास्वापाले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको थियो । शुक्रबार १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ ।
उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य, ममता झा र प्रमिला कुमारी यादवले उम्मेदवारी दिएका छन् ।