हेटौंडा | त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनाव स्थगित भएका क्याम्पसहरुमा पनि यही चैत १२ गते अघि नै निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको छ ।
त्रिविका उपकुलपति प्राध्यापक डा। धर्मकान्त बास्कोटाले विज्ञप्ति जारी गर्दै चुनाव रोकिएका क्याम्पसमा पनि तत्काल निर्वाचन प्रक्रिया अघि बढाउन र १२ गतेभित्र सम्पन्न गर्न भनेका हुन् ।
चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुने भएकाले त्यस अघि नै निर्वाचन सम्पन्न गर्न सरोकारवालाहरुलाई निर्देशन दिइएको छ । १५ वर्षपछि आइतबार त्रिवि अन्तर्गतका क्याम्पसहरुमा स्ववियु निर्वाचन गर्ने तय भएकोमा केही क्याम्पसहरुमा विवादका कारण निर्वाचन स्थगित भएको छ ।
उपत्यकामा त्रिचन्द्र, आरआर क्याम्पस, अमृत साइन्स, पाटन संयुक्त, नेपाल कर्मश र विश्वभाषा क्याम्पसमा निर्वाचन अवरुद्ध छ भने पोखराको पृथ्वीनारायण, पश्चिमाञ्चल इन्जिनियरिङ, पोखरा वन विज्ञान र पोखरा नर्सिङ क्याम्पसमा पनि निर्वाचन हुन सकेको छैन ।
यस्तै, वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धौलागिरि बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पसमा पनि निर्वाचन रोकिएको छ ।