
हेटौंडा | भारतको मध्य प्रदेशको एक मन्दिरमा पूजा गर्ने क्रममा इनारमा खसेर कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।
इन्दोर सहरमा भएको दुर्घटनामा अन्य १४ जनाको उद्धार गरिएको र एकजना अझै बेपत्ता रहेको बताइएको छ ।
इनारमाथि बनाइएको कंक्रिटमा धेरे जना उभिएपछि बढी तौलका कारण उक्त कंक्रिट खसेर मानिसहरू इनारमा परेको प्रहरीले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाबाट अत्यन्तै दुखित भएको बताएका छन् ।
बिहीबार रामनवमीको अवसरमा बेलेश्वर महादेव झुलेलाल मन्दिरमा आयोजना गरिएको प्रार्थनाका क्रममा यो दुर्घटना भएको हो ।
उक्त इनार करिब १२ मिटर गहिरो भएको बताइएको छ । करिब चार दशकअघि नै उक्त इनार ढाकिएपछि त्यहाँ मन्दिर निर्माण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतकका आफन्तलाई पाँच लाख र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

