हेटौंडा| नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई प्रत्येक महिना ब्याजदर परिवर्तन गर्नुपर्ने गरी सर्कुलर जारी गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देश, २०७९ संशोधन÷परिमार्जन गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो ।
बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रूपमा परिवर्तन गर्नुपर्ने व्यवस्थामा उल्लेख गरिएको छ ।
तर, पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न व्यवस्था बाधक नबन्ने केन्द्रीय बैंकले जनाएको छ ।
महिनाको औसत आधार दरमा परिवर्तन हुँदा ब्याजदरमा परिवर्तन हुने÷नहुने सम्बन्धमा ऋणीलाई अफर लेटर मा स्पष्ट रूपमा उल्लेख गरी अनिवार्य जनाकारी दिने व्यवस्था समेत गर्नुपर्नेछ ।
साथै ब्याजदर घटाउँदा वा वृद्धि नगर्दा सबै ग्राहकले समानरुपमा सुविधा पाउने गरी व्यवस्था मिलाउनु पर्नेछ ।