हेटौंडा । मकवानपुरको विकट गाउँपालिकाको रुपमा रहेको राक्सिराङ गाउँपालिका–३ स्थित पलासेमा रहेको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई सुरु भएको छ । पलाँसेमा रहेको सूर्योदय माध्यमिक विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाई सुरु गरिएको हो ।
शुक्रबार एक कार्यक्रमकाबीच बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँसमेतको उपस्थितिमा अंग्रेजी माध्यमको पढाई सुरुवात गरिएको हो । अंग्रेजी माध्यमबाट पढाईको उद्घाटन गर्दै बानियाँले गणतन्त्र, समावेशिता र संघीयताले शिक्षाको विकासमा ठूलो योगदान पुगेको बताए । शिक्षाले गाउँगाउँमा धेरै फड्को मारिरहेको भन्दै उनले अवस्था र व्यवस्था चुस्तदुरुस्त बनाउन तथा विका सनिर्माणमा फड्को मार्नसमेत शिक्षा अपरिहार्य रहेको बताए । शिक्षामा सुधार तथा विद्यालयको भवन निर्माण तथा शैक्षिक सामाग्रीका लागि प्रदेश सरकारबाट सहयोग गर्ने प्रतिवद्धतासमेत जनाए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमराज घलानको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, नेपाली कांग्रेस मकवानपुरका सभापति वुद्ध लामा, ३ नम्बर वडाध्यक्ष उत्तम वाईबा, जनप्रिय प्राविका प्रअ बलराम शाह ठकुरी, विद्यालयका प्रधानाध्यापक सिताराम सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए । ६ सय जना विद्यार्थी रहेको सूर्यदय माविमा ९ र १० कक्षामा बाली विज्ञान अध्ययन हुने गर्दछ । हाल ८० जनाले बाली विज्ञान अध्ययन गरिरहेको विद्यालयले जनाएको छ ।