हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाको २ र ३ नम्बर वडामा निर्मित सडकको उद्घाटन गरिएको छ । बागमती प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले शुक्रबार जिम्बाटोल, चिताउने स्यामराङ बखती सडकको उद्घाटन गरेका हुन् ।
प्रदेशसभा सदस्य बानियाँको पहलमा बागमती प्रदेश सरकारले चालु वर्षमा ३० लाख रुपैयाँ विनियोजन गरिएपछि ६५० मिटर सडक र नाला निर्माण गरिएको थियो । सडक निर्माणपछि यातायात सेवाका साथै अन्य सेवा लिनसमेत सहजता बनेकोमा स्थानीय हर्षित बनेका छन् । सडक उद्घाटन कार्यक्रममा कांग्रेस जिल्ला सभापति बुद्ध लामा, राक्सिराङ ३ नम्बर वडाध्यक्ष उत्तम वाईबा, नेपाली कांग्रेस राक्सिराङ सभापति विरेन्द्र जिम्बा, ३ नम्बर वडाका कांग्रेस उपसभापति कुलबहादुर मुक्तानलगायतको आतिथ्यता रहेको थियो । सडक उद्घाटनसँगै प्रदेशसभा सदस्य बानियाँले सडकको निरीक्षणसमेत गरेका थिए ।