हेटौंडा|धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार २३.३९ अंकले वृद्धि भएको छ । मंगलबार झिनो अंकले बढेको नेप्से आज १.२८ प्रतिशतले बढेर १८४५.०१ विन्दुमा रोकिएको हो । त्यसअघिका दिनहरूमा नेप्से लगातार चार कारोबार दिन घटेको थियो ।
आज नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज ८५ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार ६४ करोड रुपैयाँमा सेयर कारोबार भएको थियो ।
आज २६६ धितोपत्रको २५ लाख ७७ हजार २१० कित्ता खरिदबिक्री भयो । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, इस्टर्न हाइड्रोपावर लिमिटेड र ग्रिनलाइफ हाइड्रोपावरको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
माइखोला हाइड्रोपावर लिमिटेडको सेयरमूल्य ७.९३ प्रतिशतले घटेको छ भने युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ५.३६ प्रतिशतले घटेको छ । शिवम् सिमेन्टको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यस कम्पनीको पाँच करोड ७४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको हो ।