२०२६ को फिफा विश्वकपको लोगो सार्वजनिक

हेटौंडा टुडे
४ जेष्ठ २०८०, बिहीबार १७:१३

हेटौंडा|सन् २०२६ को फिफा विश्वकपको लोगो सार्वजनिक गरिएको छ । विश्वकप आउँन अझै तीन वर्ष बाँकी रहँदा लोगो सार्वजनिक गरिएको हो ।

फुटबल नियामक निकाय फिफाका अध्यक्ष जियान्नी इन्फान्तिनोले बुधबार विश्वकपको लोगो सार्वजनिक गरेका हुन् ।

सरल डिजाइनको लोगो भएकै कारण समर्थकहरुले यसको मजाक उडाइरहेका छन् । ५३ वर्षीय इन्फान्तिनोले एक समारोहका बिच लोगो अनावरण गरेका हुन् ।

ब्राजिलका विश्व विजेता रोनाल्डो नाजारियो दा लिमाले आफ्नो हातमा विश्वकप लिएर मञ्चमा निस्किए र इन्फान्तिनोसँग मिलेर लोगो अनावरण गरे ।

यस्तै, कार्यक्रममा ३ वर्षपछि हुने विश्वकपको फाइनल मितिसमेत घोषणा गरिएको छ । फाइनल खेल सन् १९ जुलाई, सन् २०२६ आइतबार हुनेछ ।

विश्वकपमा छनोट भएका सबै टिमहरुले आफ्नो टिम घोषणा गर्ने अन्तिम समयसीमा २५ मे, सन् २०२६ हुनेछ । पहिलोपल्ट फिफाले विश्वकपमा ४८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

विश्वकपको १६ खेलस्थल पनि सार्वजनिक भएको छ । अमेरिका, क्यानडा र मेक्सिकोले यो प्रतिष्ठित एक महिने प्रतियोगिताको आयोजना गर्नेछन् । विश्वकपका खेलहरु क्यानडाका २, मेक्सिकोका ३ र अमेरिकाका ११ रंगशालामा सञ्चालन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image