हेटौंडा । बागमती प्रदेशका प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको पहलमा २ वटा सिंचाई आयोजनाको काम हुने भएको छ । बानियाँको पहलमा एक महिनामा मनहरी-१ को पर्ता र गोगनपानीमा २ वटा सिंचाई आयोजनाको काम हुने भएको हो ।
आफ्नो निर्वाचन क्षेत्रको मनहरी-१ चकरीमा पुगेका बानियाँले त्यहाँ सिंचाईको अभावमा खेति गर्न किसानहरूले समस्या भोगिरहेको देखेपछि २ दिन अघि चितवन भुमिगत संयोजनात्मक जलसिंचाई आयोजना प्रमुख देव स्याङ्बोलाई सम्भाव्यता अध्ययन गरि सिंचाई योजना अघि बढाउन भनेका थिए ।
शुक्रबार आयोजना प्रमुख स्याङ्बो र ईन्जिनियर अमर राईसहितलाई लिएर त्यस क्षेत्रमा पुगि बानियाँले फिल्ड देखाई स्थानीयसंग छलफल गरेका थिए । त्यसपछि भएको छलफलमा प्रमुख स्याङ्बोले प्राविधिकले सम्भाव्यता अध्ययन गरि एक दुई दिनमै सम्झौता गरि काम अघि बढाउने प्रतिवद्धता जनाए । उनले चालू आर्थिक बर्षमै पर्ता र गोगनपानीका किसानले लिफ्ट सिंचाइमार्फत खेति गर्न पाउने बताए ।
छलफलमा वडा अध्यक्ष शिव खनालसहित जनप्रतिनिधि र स्थानीयले सिंचाई आयोजना संचालन भए यस क्षेत्रका किसानले अन्नवाली र नगदेवाली उत्पादन गरि आयआर्जन गर्न सक्ने बताएका थिए । सिंचाई आयोजना संचालन भएपछि यस क्षेत्रको करिब ८५ विगाह जमिनमा सिंचाइ हुने जनाइएको छ ।