हेटौंडा | बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर २२ बाट अवैध पामतेल (कच्चा पदार्थ) सहित प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, भंगेरी बस्ने २४ वर्षीय सुरेन बल र सिमरा उपमहानगरपालिका–२२ बस्ने २७ वर्षीय मनिष उपे्रती रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, बुधबार बिहान ९ बजेको समयमा जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित, सुरेन बलले संचालन गरेको आले ढिडो एण्ड खाजा घरमा अवैध रूपमा पामतेल खरिद गरी लुकाई छिपाई खरिद गरी बिक्रि वितरण समेत गरी रहेको भन्ने प्राप्त सूचनाको आधारमा पुगेको प्रहरीले उक्त पसल चेकजाँच गरेको थियो ।
सो क्रममा ९८ ग्यालिनमा रहेको पामतेल (कच्चा पदार्थ) १४७० लिटर, डिजेल २०० लिटर, तेल निकाल्न प्रयोग गर्ने पाईप तथा सोही घर अगाडि खाली जग्गामा रोकी राखेको पामतेल लोड रहेको प्रदेश २–०३००१ ख ४५४२ नम्बरको टयाङ्ककर गाडी समेत फेला परेपछि प्रहरीले बल र ट्याङकरका सह–चालक उप्रेतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।