नेप्से ५६.९४ अंकले बढ्यो

हेटौंडा टुडे
१२ असार २०८०, मंगलवार १५:५७

हेटौंडा| सेयर बजार परिसूचक (नेप्से) ५६.९४ अंकले बढेको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि नै नेप्से बढेको छ। आइतबार ६२ अंकले बढेको नेप्सेमा हिजो सोमबार ११.६९ अंकको सुधार आएको थियो।

आज नेप्से परिसूचक साढे ४ महिनायताकै उच्च विन्दु २१८६.३६ अंकमा पुगेको छ। यसअघि गत माघ २६ गते २१८२.६३ सम्म पुगेको थियो।

आज सेन्सेटिभ इण्डेक्स ३.३६ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स २.९१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४५ प्रतिशत बढेको छ। २७५ स्टकको ८० हजार ३९८ पटकको कारोबारमा ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड ३१ लाख ७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

३३ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ, जसमध्ये अधिकांश लघुवित्त कम्पनीहरु रहेका छन्। त्यसैगरी अन्य १० स्टकको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। आज ३७ स्टकको मूल्य घटेको छ। १३ उपसमूहमध्ये आज १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।

लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ८.९६ प्रतिशत बढेको छ। त्यसैगरी, वित्त उपसमूहको परिसूचक ४.४४ प्रतिशत बढेको छ भने बैंकिङ उपसमूहको परिसूचक ३.९३ प्रतिशत बढेको छ। आज विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएका उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र व्यापार उपसमूहको परिसूचक आज घटेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*