बागमतीमा बजेटले गठबन्धनमा गडबढ

हेटौंडा टुडे
२९ असार २०८०, शुक्रबार १२:२४

हेटौंडा । बागमती प्रदेशमा अहिले गठबन्धनको सरकार रहेको छ । एमाले र राप्रपाको समर्थनमा माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल पुस २५ मा मुख्यमन्त्री बनेका थिए । माओवादीले कांग्रेससँग सहकार्य रोजेपछि बागमती प्रदेश सरकारबाट पनि एमाले र राप्रपा बाहिरिए । त्यसपछि मुख्यमन्त्री जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएका थिए । बागमती प्रदेशमा कांग्रेसबाट ६, माओवादी र एकीकृत समाजवादीबाट ६ जना मन्त्री छन् ।
कांग्रेसका बहादुरसिंह लामा तामाङलाई अर्थ, तीर्थबहादुर लामा खानेपानी, उत्तम जोशी स्वास्थ्य, पुकार महर्जन पर्यटन र मसिना खड्का वन मन्त्री छन् । कांग्रेसका रामकृष्ण चित्रकारको भने अहिलेसम्म जिम्मेवारी तोकिएको छैन । माओवादी केन्द्रबाट गंगानारायण श्रेष्ठलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कुमारी मुक्तानलाई सामाजिक विकास मन्त्रालय र युवराज दुलाललाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै एकीकृत समाजवादीका लक्ष्मण लम्सालले श्रम र राजेन्द्रमान श्रेष्ठले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । बागमती प्रदेशमा मन्त्रालयको भागबण्डा र बजेटप्रति गठबन्धनभित्र चर्को असन्तुष्टि सुनियो । बजेट पास भए पनि कांग्रेसका चित्रकारलाई जिम्मेवारी दिन मन्त्रालय फुटाउनुपर्ने अवस्था छ ।

बागमती प्रदेश सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले बिनाविभागीय मन्त्रीको जिम्मेवारी तोक्ने विषयमा छलफल भइरहेको बताए । उनले भने, ‘यस विषयमा अहिले सल्लाह भइरहेको छ । कुनै टुङ्गो लागेको छैन । चाँडै टुङ्गिन्छ ।’ बागमती प्रदेशमा बिनाविभागीय मन्त्री चित्रकारको जिम्मेवारी तोक्ने विषयमा गठबन्धनभित्र कुनै समस्या नरहेको उनको भनाइ छ ।

यो समाचार रातोपाटीडटकमको सहयोगमा तयार पारिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*