निर्वाचन आयोगद्वारा ५१ दल कारबाहीमा

हेटौंडा टुडे
२ श्रावण २०८०, मंगलवार १२:१७

हेटौंडा| निर्वाचन आयोगले कानून बमोजिम आर्थिक व्यवस्थापन पारदर्शी नगर्ने र आयोगको निर्देशन अवज्ञा गर्ने ५१ राजनीतिक दललाई कारबाही गरेको छ ।

आयोगको कारबाहीमा पर्नेमा संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीसमेत छन् ।

आयोगको कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार, आयोग पदाधिकारीको सोमबार बसेको बैठकले कारबाहीको निर्णय गरेको हो ।

बैठकले लेखापरीक्षण प्रतिवेदन पेस गरेपनि सार्वजनिक नगरेको तथा आयोगको निर्देशन पालना नगरेका ३९ राजनीतिक दललाई जरिबाना र १२ दललाई सचेत गराएको छ ।

निर्वाचन आयोगमा ८२ राजनीतिक दलले समयभित्रै लेखापरीक्षण प्रतिवेदन पेस गरेका थिए । १६ दलले लेखापरीक्षण प्रतिवेदन नै पेस गरेनन् भने ९ राजनीतिक दलले तोकिएको समयपछि मात्रै बुझाएका थिए ।

आयोगले कारबाहीमा परेका दललाई ३५ दिनभित्र जरिवाना बुझाउन निर्देशन दिएको छ । जरिवाना बापतको रकम तोकिएको समयभित्र नबुझाउने राजनीतिक दललाई तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउन सक्ने कानूनी व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*