हेटौंडा|मकवानपुर प्रहरीले लागूऔषधसहित गएराति तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित रातोमाटे चेकपोष्ट अगाडिबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पर्साको वीरगंज महानगरपालिका वडा नम्वर २ राधेमाई बस्ने ३५ वर्षीय किरण देबिना, भारतको मतिहारी जिल्ला कलबारी मोडरीग्राम बस्ने अन्दाजी २६ वर्षीया पुनम देवी राम र हेटौंडा उपमहानगरपालिका–९ बस्ने २७ वर्षीय टेकबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, उनीहरुलाई प्रहरी चौकी रातोमाटेबाट प्रहरी वरिष्ठ नायव निरीक्षक मन्जुकुमारी रानाको कमाण्डमा खटिएको प्रहरी टोलीले लागूऔषध डाईजेपामा–३५ पिस, फेनार्गन–६६ पिस र नुफिन –३४ पिससहित पक्राउ गरेको हो ।
गएराति साढे ११ बजेको समयमा वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना.५ ख ८६८८ नं.को यात्रु बाहक माईक्रोलाई शंका लागि चेकजाँच गरिएको थियो । सो क्रममा माईक्रोमा सवार किरणको साथबाट सो परिमाणको लागूऔषध बरामद भएको र उक्त कारोबारमा किरणका साथै उनकी साथी माईक्रोमा सवार पुनम पनि संलग्न रहेको भनि प्रहरीले निज दुबै जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
साथै प्रहरीले उक्त लागूऔषध किनमेलमा संलग्न रहेको आरोपमा हेटौंडाका मगरलाई पनि पक्राउ गरिएको प्रहरी नयाव उपरीक्षक कार्कीले बताए । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।