हेटौंडा । बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडादर सरकारले घटाए पनि व्यावसायीले घटाएका छैनन् । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारीका साधनको भाडादर घटाए पनि प्रदेशका अधिकांश जिल्लामा चल्ने यातायात व्यावासायीहरुले पुरानै भाडादर कायम राखेका छन् ।
प्रदेशको राजधानी हेटौंडामानै व्यावासायीहरुले भाडादर सरकारले तोके अनुसार घटाएका छैनन् । प्रदेशका १३ वटै जिल्ला र स्थनीय तहहरुमा सवारीको भाडादर नघटेको यात्रुहरुले गुनासो गरेका छन् ।
बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडादर घटे पनि काठमाडौं उपत्यकामा भाडादर घटेको छैन । नेपाल आयल निगम साउन १ गतेबाट इन्धनको स्वचालित मूल्य प्रणालीमा गएपछि बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको भाडादर घटाएको थियो ।
स्वचालित मूल्य प्रणाली अनुसार पाँच प्रतिशत इन्धनको मूल्यमा थपघट हुने बित्तिकै भाडादर सोही अनुसार थपघट हुने व्यवस्था छ । साउन ११ गते मन्त्रालयले भाडादर घटाए पनि उपत्यकाका यातायात व्यावसायीले भाडादर घटाएका छैनन् ।