हेटौंडा । सशस्त्र प्रहरीको टोलीले हेटौडाबाट करिब १५ लाख रुपैयाँ बराबरको अवैध लागूऔषध र भन्सार छलीको कपडासहित एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरको टोलीले प्रतिवन्धित औषधी ट्रामाडोल ५० एमजीको एकलाख ३१ हजार ७६० ट्याब्लेट, म्याद सकिएको महारिच ब्राण्डको मल्टी भिटामिन १५० थानसहित कपडा बरामद गरेको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेमा वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा।प्र ०१–००६ ख २६५६ नम्बरको कन्टेनरबाट लागूऔषधसहित १४ लाख ४७ हजार बराबरको भन्सार छलीको कपडा समेत बरामद गरेको छ ।
पाइन्ट, टिसर्ट, कुर्ता लगायतको कपडा र प्रतिवन्धित औषधी सहित कन्टेनर चालक काभ्रेको देउपुर नगरपालिका ९ मण्डन बस्ने ४८ वर्षीय ज्ञानेन्द्रकुमार सापकोटालाई नियन्त्रणमा लिइएको सशस्त्रका प्रहरी उपरीक्षक अनिल कार्कीले जानकारी दिए ।
‘सशस्त्रको टोलीले चेकिङको क्रममा ट्रक चालक सापकोटाले केही वस्तुहरु ट्रकको क्याविनबाट झाडीमा फालेर भाग्ने प्रयास गरेपछि हामीलाई थप शंकाको आधारमा चेकिङ गर्दा लागूऔषध र भन्सार छलीको सामान फेला पारेका हौं’, प्रहरी उपरीक्षक कार्कीले भने । सशस्त्रको कानून शाखासँग आवश्यक समन्वय गरी कारबाही एवम् अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।
लागूऔषध र भन्सार छलीको कपडासहित ट्रक नियन्त्रणमा
सेयर गर्नुहोस्