हेटौडा । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित जिल्लाको विभिन्न स्थानबाट शुक्रबार तीन जनालाई पक्राउ गरेको छ ।प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटे चेकपोष्टबाट दुई जना र हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ नेवारपानीबाट एक जना गरी तीन जनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।प्रहरीले शुक्रबार बिहान पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा–१५, रातोमाटेबाट लागूऔषध गाँजा ५ किलोसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पर्साको बहुद्रामाई नगरपालिका वडा नम्वर ६ गमरीया बस्ने ४७ वर्षीय हिरालाल शाह र बाराको बस्तिपुर बस्ने ४८ वर्षीय धुरन शाह रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, बिहान ८ बजेको समयमा नारायघाटबाट वरिगंजतर्फ जाँदै गरेको बा।प्र।०३ –००१ ख २७५८ नं।को यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्ने क्रममा उक्त बसमा सवार उनीहरुको साथबाट सो परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।
यस्तै, प्रहरीले शुक्रबार नै हेटौंडा–१९ नेवारपानीबाट लागूऔषध गाँजाको धुलो ४१ किलो ३०० ग्रामसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–११ बस्ने २७ वर्षीय नारायण शाह रहेका छन् ।
दिउँसो २ बजेको समयमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च २५२५ नं को योद्धा पिकअप गाडी रोकी चेकजाँच गर्दा उक्त गाडीमा लुकाई छिपाई ल्याएको २ वटा बोरा सो परिमाणको गाँजा धुलो बरामद भएपछि गाडी चालक शाहलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।