नागस्वतीमा असोज २३ गतेबाट टोलस्तरीय फुटबल

हेटौंडा टुडे
१० आश्विन २०८०, बुधबार ११:०७

हेटौंडा । हेटौंडा नागस्वतीमा टोलस्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।नवज्योति टोल विकास संस्थाअन्तर्गत् भीआईपी फुटबल टिमको आयोजनामा असोज २३ गतेबाट नागस्वतीस्थित नवज्योति माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । आयोजकले बुधबार विहान पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारीको विषयमा जानकारी दिएको छ ।

कात्तिक ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा करिब दश टोली सहभागी रहने अनुमान गरिएको प्रतियोगिताका आर्थिक संयोजक राजु कार्कीले जानकारी दिए । उनका अनुसार प्रतियोगिता सहभागी टोली दुई समूहमा विभाजन गरी लिगकम नकाउटका आधारमा सञ्चालन गरिनेछ । दुवै समूह विजेता र उपविजेताले अन्तिम चारमा प्रतिस्पर्धा गर्ने गरी खेल तालिका निर्माण गरिने जानकारी दिइएको छ ।प्रतियोगिताको विजेताले नगद ५३ हजार रुपैयाँसहित खसी प्राप्त गर्नेछ ।

उपविजेताले खसीसहित विभिन्न उपहार प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई विधागतरुपमा पुरस्कारको व्यवस्था गरिने आयोजक टोल विकास अध्यक्ष सुशील सुवेदीले जानकारी दिए । उनका अनुसार २७ औं संस्करणको यस प्रतियोगिताको सुरुवात २०५२ सालबाट भएको हो ।७ नम्बर वडा बाहेकका खेलाडी यस प्रतियोगितामा सहभागी हुन पाउँदैनन् । खेलाडी छनौट र नवप्रतिभा पहिचानका लागि हामीले वर्षेनी खेल गर्ने गरेका छौं । सुवेदीले भने । साविकको विजेता नै आयोजक हुने गरी प्रतियोगिता सञ्चालन हुँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image