हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ७० केजीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–५ बस्ने २२ वर्षीय सन्देश प्रजा र ३४ वर्षीय युबराज प्रजा रहेका छन् ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले मंगलबार राति प्रजाद्वयलाई उक्त गाँजासहित पक्राउ गरेको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट बीरगञ्जतर्फ जाँदै गरेको ना।५३ प ३९३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई सोधपुछ गरेको थियो ।
सोधपुछ गर्दा हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा।१२ च ९७४२ नम्बरको गाडीमा गाँजा ल्याउदै गरेको खुल्न आएपछि उक्त गाडीलाई नियन्त्रणमा पूर्वतयारीका साथ बसेको थियो । गाडीलाई रोक्न खोज्दा राजमार्गबाट भित्रि सडक खण्डतर्फ भाग्ने क्रममा बिक्रम चोक नजिक पिकअप गाडी छाडी चालक फरार भएका थिए ।
उक्त गाडीको ढाला र क्याबिनमुनी ११ वटा पोकामा रहेको उक्त गाँजा फेला पारी मोटरसाइकलमा सवार प्रजाद्वयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हाल फरार गाडी चालकलाई प्रहरीले खोजी रहेको छ भने यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।