हेटौंडामा युथ–२१ फुटबल प्रतियोगिता हुने

हेटौंडा टुडे
२१ कार्तिक २०८०, मंगलवार १८:५५

हेटौंडा । आगामी मंसिर ५ गतेबाट स्वर्गीय सुदर्शन घिमिरे स्मृति यू २१ च्यालेन्ज कप फुटबल प्रतियोगिता हेटौंडामा आयोजना हुने भएको छ ।प्रतियोगितामा मकवानपुर बाहिरका तीनवटा सहित १४ टिमको सहभागिता रहने भएको छ ।
‘राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिताको तयारीलाई तीव्र पारिएको आयोजक एफसी मुण्डियालका अध्यक्ष सुबिन घिमिरेले बताए ।लामो समय फुटबल खेलेर हिँडियो । अहिले पनि भेट्रान खेल खेलिरहेको छु, भेट्रान केवल रमाइलोको लागि मात्र हो यसबाट खेलाडी उत्पादन हुँदैन भन्ने निस्कर्ष सहित यो प्रतियोगिता गर्ने निर्णयमा पुगेका हौं’, उनले भने, ‘विशुद्ध नयाँ खेलाडीको खेल प्रतिभा उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो । यसका लागि घरबाटै प्रथम पुरस्कार वापतको सहयोग रकम लिएर सुरु गरेका छौं ।’

प्रतियोगिताको विजेताले एकलाख ११ हजार ११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कारको व्यवस्था रहेको छ । हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगिताको संयोजक सुदिपसिंह ठकुरी रहेका छन् ।

खेलबाट बचेको रकम जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प पीडितका लागि सहयोग गरिने आयोजकले जानकारी दिएको छ । एफसी मुण्डियाल जिल्ला बाहिर भएको विभिन्न प्रतियोगिताको उपाधि जितिसकेको क्लव हो

।यस प्रतियोगिताको लागि प्रथम पुरस्कार घिमिरे परिवारबाटै सहयोग प्राप्त भएको छ भने मुख्य प्रायोजक हेटौंडा सिटी कलेज, सह प्रायोजक दाजुभाई स्वीट्स सहित अन्य विभिन्न व्यक्ति तथा संघसंस्था रहेका छन् । २१ वर्ष मुनीको यस प्रतियोगितालाई आगामी वर्षहरु पनि निरन्तरता दिँदै जाने योजना रहेको संयोजक ठकुरीले बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image