
हेटौंडा । मकवानपुरगढी गाउँपालिकाले बुधबारबाट वडा स्तरमै पुगेर योजना सम्झौत कामको थालनी गरेको छ । आर्थिक वर्ष २०८० /८१ को लागि गाउँपालिकाले विनियोजन गरेका योजनाहरुको सम्झौता वडा स्तरमै गर्न थालिएको हो। मकवानपुरगढी गाउपालिकामा विकास निर्माणको कामलाई छिटो छरितो ,सरल र प्रभावकारी बनाउने उदेश्यले पहिलो चरणमा गाउपालिकाको ३ वटा वडाहरू १,७,८ मा योजना सम्झौताको कामलाई वडाबाटै गरिने व्यबस्थाको सुरुवात गरेको हो । आज बुधबार मकवानपुरगढी गाउपलिकाको वडा नम्बर ८ मा योजना सम्झौताको काम सम्पन्न भएको छ भने भोलि बिहिबार मकवानपुरगढी गाउपालिका वडा नम्बर ७ सुकौरा र पर्सि सुक्रबार वडा नम्बर १ मा योजना सम्झौताको काम गरिने प्रमुख प्रसासकिय अधिकृत राजेन्द्र कार्कीले जानकारी दिनुभयो ।
योजना सम्झौताका लागि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय अधिकृत, प्राविधिक एवं शाखा प्रमुख सहितको कर्मचारीहरुको टोली वडामा खटिएको हो । गाउँपालिकाले वडा स्तरबाट छनोट गरि बजेट विनियोजन गरेका योजनाहरुको सम्झौता वडामै पुगेर गर्न थालेपछि उपभोक्ताहरुलाई सहज भएको उपभोक्ताहरु बताउछन । योजना सम्झौतासँगै उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना प्रक्रियाको बारेमा जानकारी दिने अभिप्रायले अभिमुखीकरण कार्यक्रम समेत गरिएको प्रमुख प्रशासकीय अधिकृत कार्कीले बताउनु भयो ।
८ वटा वडा रहेको यस गाउँपालिकाले २०८० /८१ का लागि करिब २५० योजनाहरु छनोट गरेको छ । पालिकाले विनियोजन गरेका योजनाहरुको बजेट फ्रिज नहोस र समयमै कार्य सम्पन्न होस भन्ने उदेश्यले सम्बन्धित वडा कार्यालयमै पुगेर योजना सम्झौता गर्ने योजना बनाएको कार्कीले बताउनु भयो । यस अघि योजनाहरुको सम्झौता र कार्यान्वय असार मसान्त सम्मै गर्ने प्रचलन थियो उहाँले भन्नु भयो । अन्तिम समयमा योजना सम्झौता र भुक्तानीका लागि निकै भिडभाड हुने गरेको थियो । जसले गर्दा गुणस्तरीय र प्रभावकारी काम पनि नहुने, अनावश्यक चाप बढ्ने र बजेट फ्रिज जाने समस्या थियो । त्यसको समाधानका लागि हामीले उपभोक्ता समिति गठन गर्ने, योजना सम्झौता गर्ने र सम्पन्न गर्ने समयावधि तोकेर काम अगाडी बढाएका छौं । तोकिएको समयमा काम नगर्ने उपभोक्ता समिति र टेण्डरकर्ताहरुको काम रोकिने कार्की बताउनु भयो ।
वडामै गएर योजनाहरुको सम्झौता गर्दा उपभोक्ताहरुको समय बचतसँगै पटक–पटक पालिकामा धाउनु पर्ने समस्या हट्ने छ । सम्झौता गर्न आउँदा सानो कागज पत्र नमिलेको अवस्थामा पटक–पटक पालिका धाउनु पर्ने जस्ता समस्या आगामी दिनमा हट्ने कार्कीको भनाई छ । “योजना सम्झौतासँगै हामीले योजना कार्यान्वयनका विषयमा पनि जानकारी गराउँदै आएका छौं,“उहाँले भन्नु भयो,“ आर्थिक पारदर्शीता र योजनाको गुणस्तरका विषयमा पनि सुरुवातमै सजक गराउँदै आएका छौं । योजनाको सामाजिक परीक्षण, अनुगमन र अन्य प्रक्रियाका विषयमा पनि बताउँदै आएका छौं । जसले गर्दा योजनाको गुणस्तर र आर्थिक पारदर्शीता हुने विश्वास लिएका छौं । कार्की बताउनु भयो ।
योजना सम्झौतासँगै योजना लागु हुने ठाउँको भौगोलिक अबस्थाको बारेमा जानकारी हुने र उपभोक्तासँगको समन्वयमा सहजता हुने प्रविधिका तथा इन्जिनियरहरुको भनाई छ । योजना सम्झौता गर्न बोलाउदा भौगोलिक अबस्थाले गर्दा पालिकामा सबै उपभोक्ताहरू आउन नसक्ने र धेरै दिन लाग्ने भएकाले उपभोक्ता समितिलाई योजनाका बारेमा आवश्यक जानकारी दिन असहज हुने वडा अध्यक्षहरुको भनाई छ । वडामै आएर सम्झौता गर्दा ठाउँको ठाउँको भुगोल, योजना निर्माण स्थलको बारेमा जानकारी हुनुका साथै सम्बन्धित उपभोक्ताहरुसँग समन्वय पनि हुन्छ । योजना सम्झौताका लागि खटिएको टोलीबाट योजना सम्झौता देखी काम सम्पन्न गर्ने र भुक्तानी लिने प्रक्रियाको बारेमा समेत जानकारी पाउने र टोलीले योजना निमार्णमा चाहिने आवश्यक सामाग्री, आवश्यक कागजातका बारेमा जानकारी दिनुका साथै प्राविधिकहरुले योजनाको नापजाँच , सर्वेक्षण गरी स्टेटमेन्ट तयार गरिदिने गरेका कारण पनि सेवामा सहजता हुने गाउपालिका अध्यक्ष दोर्जे लामा स्याङ्गतानले बताउनु भयो ।
आगामी शुक्रबार सम्ममा तिन वटा वडाको सबै योजनाहरुको सम्झौता सकेर कार्य आदेश दिने योजना रहेको गाउँपालिका अध्यक्ष स्याङ्गतानले बताउनु भयो । वडा स्तरमा गएर योजना प्रक्रियाको बारेमा जानकारी गराउने र सम्झौता गर्ने यो पालिकाको पहिलो प्रयास हो । पहिलो चरणको तिना वटा वडाको योजना सम्झौता सकिए पछी दोस्रो चरणमा बाकि वडाहरुमा काम अगाडी बढ्ने अध्यक्ष स्याङ्गतानले बताउनु भयो ।
अहिले पालिकाले गरेको यो कामले गाउँमै सिंहदरबार पुगेको आफुहरुले अनुभुती गरेको स्थानीयले बताएका छन । स-साना योजनाहरूको सम्झौता गर्न पनि उपभोक्ताहरू गाउँ पालिकामा धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्दै गाउँपालिकाले वडागत घुम्ती शिविरहरू सञ्चालन गरि गरेको यो कार्य प्रति वडा बासिहरू खुसि छन् ।

