हेटौडा। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडा मारी खाग ओसारपसार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा मकवानपुरका चारसहित आठ जनालाई पक्राउ गरेको छ ।विभागमा रहेको केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको समन्वयमा नेपाली सेना, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र चितवन राष्ट्रिय निकुञ्जको संलग्नतामा एकीकृत अपरेसन सञ्चालन गरी उनीहरुलाई पक्राउ गरिएको हो ।उनीहरुलाई बिहीबार चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा सार्वजनिक गरिएको हो । विभागका महानिर्देशक डा। सिन्धुप्रसाद ढुङ्गानाका अनुसार पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–३ लेबटका ३३ वर्षीय रमेश खाती, राक्सिराङ गाउँपालिका–९ घर भई हाल हेटौँडा उपमहानगरपालिका–४ बस्ने ४४ वर्षीय शमशेर थिङ, मनहरी गाउँपालिका– ६ का ५६ वर्षीय थिङ बाजे भन्ने सीताराम थिङ, मकवानपुरको मनहरी नगरपालिका–७ ज्यामिरे घर भई हाल चितवनको माडी नगरपालिका–९ बाँदरझुला बस्ने ५६ वर्षीय स्याङ्बो भन्ने इन्द्रबहादुर तामाङ रहेका छन् ।
यस्तै रोल्पाको सुनछहारी गाउँपालिका–६ फगाम घर भई हाल हेटौँडा उपमहानगरपालिका–५ बस्ने २८ वर्षीय अर्जुन रोका, चितवनको राप्ती नगरपालिका–११ ठाकलटार बस्ने ४२ वर्षीय पासाङ भन्ने आइतेसिंह मोक्तान, गोरखा बारपाक घर भई भरतपुर महानगरपालिका–११ लामा टोल बस्ने ७७ वर्षीय घले भन्ने धनबहादुर गुरुङ र चितवनको राप्ती नगरपालिका–११ थाकलटार बस्ने ४० वर्षीय उनबहादुर स्याङतान पक्राउ परेका छन् ।पक्राउ परेकाको साथबाट दुई थान गैँडाको खाग, भरुवा बन्दुक एक थान, बिँड नभएको बञ्चरो एक थान, कालो झोला, चक्कु, भरुवा बन्दुकमा प्रयोग हुने फलामका टुक्रा, गुलेली, टर्च लाइट, डिक्ची, पटका बारुद, दुई थान मोटरसाइकल लगायतका सामग्री बरामद गरिएको छ ।गएको कात्तिक ३० गते निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली क्षेत्रस्थित कोर ईलाकामा दुई वटा पोथी गैँडालाई खाडल खनी मारेर खाग लगेको अवस्थामा भेटिएका थिए ।
गैँडा मारी खागको तस्करी आरोपमा मकवानपुरका ४ सहित ८ जना पक्राउ
सेयर गर्नुहोस्