हेटौडा । मकवानपुरगढी गाउँपालिका वडा न. ४ कालीखोला स्थित अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्था लि.ले आजदेखि त्यस क्षेत्रमा उत्पादित कृषकहरुबाट कोदो खरिद गरि संकलन गर्न शुरुवात गरेको छ ।
सहकारी संस्थाले गाउँपालिकाबाट तोकिएको मूल्यमा अनुदान रकम समेत थप गरि प्रति केजी ६० रुपैंयाको दरले कोदो खरिद गरिएको सहकारीका अध्यक्ष दिल वहादुर योन्जनले बताउनु भयो । कोदो संकलनको आज पहिलो दिन ११ जना कृषकहरुबाट १५०० केजी भन्दा बढी खरिद भएको सहकारीका सचिव कृष्ण बहादुर घलान (मुस्कान) ले बताउनु भयो ।
आज कोदो विक्री गर्ने कृषकहरु मध्ये मकवानपुरगढी ४ का कृषक सुकुम बहादुर घलानले सबैभन्दा धेरै ५०० केजी कोदो विक्री गैनु भएको छ । आज बाट सुरु भएको कोदो संकलन कार्यमा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान र वडा न. ४ का वडा अध्यक्ष अर्जुन प्रसाद तिमिल्सिनाको उपस्थिति रहेको थियो . । गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले ८६ वर्षीय कृषक बीर बहादुर योन्जनलाई चेक हस्तान्तरण गरि कोदो खरिदको कार्य शुरुवात गर्नुभएको थियो । अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थाले गाउँपालिकाको सहयोगमा गत वर्ष देखि कालीखोला ब्रान्डको कोदो पिठो प्याकेजिङ्ग गरि बजारमा बिक्री गरिरहेका छन् ।