हेटौडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ स्थित श्री भुटनदेवी माध्यमिक विद्यालय प्राविधिक शिक्षालयको व्यवस्थापन समिति अध्यक्षमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर– ४ का वडा अध्यक्ष नवीन सिग्देल चुनिएका छन् ।गत फाल्गुन २४ गते सम्पन्न भएको ५७ औं अभिभावक भेलाले दिएको निष्कर्षबाट सिग्देल सर्वसम्मत अध्यक्षमा चुनिएका हुन । त्यस्तै सदस्यहरुमा गोमा सुनुवार, रिमा श्रेष्ठ, कृष्ण प्रसाद कँडेल, नारायण प्रसाद तिमल्सिना, राजेन्द्र बस्ताकोटि र राधिका चौंलागाई चयन भएका छन् ।कार्यक्रममा समितिका अध्यक्ष सिग्देलले आफ्नो कार्यकालमा समग्र शिक्षाको गुणस्तरमा कुनै किसिमको सम्झौता नगरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।४ नम्बर वडा शैक्षिक अभियानमा लागिपरेको र भावी दिनमा उदारहणीय काम गरेर शैक्षिक क्षेत्रमा नगरभरीनै उल्लेख्य सुधार गर्ने उनले दावी गरेका छन् ।
साथै विद्यालयमा डेण्टी स्मृति कोषको स्थापना गरिने घोषणा गरीएको छ । विद्यालयका पूर्वप्रधानाध्यापक डेण्टी जंग शाहको स्मृतिमा कोष स्थापना गरीन लागिएको आफ्नो कार्यकालको पहिलो बैठकमा अध्यक्ष सिग्देलले घोषणा गरेका हुन् ।
सुरुवातमा १० लाख रुपैँया रकम कोषमा जम्मा गरीने र पछि रकम विस्तार गरीदै लगिने उनले बताए । कोषबाट विद्यालयका गरीब जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरीने अध्यक्ष सिग्देलले बताएका छन् । भुटनदेवी माध्यमिक विद्यालयमा हाल २ हजार ३ सय विद्यार्थीहरु अध्यनरत छन् ।