
हेटौँडा । मकवानपुरको मनहरीमा एकै दिन तीन वटा पक्की पुलको उद्घाटन गरिएको छ । मनहरी गाउँपालिकाको बजेटमा निर्माण भएको तीनवटा पक्की पुल शनिवार मकवानपुर क्षेत्र नं २ ख बाट निर्वाचित बागमती प्रदेशका सांसद इन्द्रबहादुर बानियाँले उद्घाटन गर्नु भएको हो । पुलको उद्घाटन गर्दै बानियाले गाउँको विकासका लागि सक्दो सहयोग गर्ने बताउँदै बताउनु भयो ।
पालिकाको बजेटमा बानियाँ कन्स्ट्रक्सनसँग सम्झौता गरी निर्माण भइरहेको पाँच पक्की पुल मध्ये शनिवार तीन वटा पक्की पुलको निर्माण सम्पन्न भइ उद्घाटन गरिएको थियो । सांसद बानियाँले वडा नं १ र २ जोड्ने च्यापल खोला पुल, वडा नं ३ र ४ जोड्ने मसिने खोला पुल र वडा नं ४ र ५ जोड्ने ट्वाङग्राखोलाको पुल उद्घाटन गर्नु भएको हो ।
गाउँपालिकाले वितेको आर्थिक वर्ष ०७७–०७८ मा आन्तरिक स्रोतबाट ५ वटा पक्की पुल निर्माणको काम सुरु गरेको थियो । कुल ३३ करोड ४० लाख ६५ हजार लागतमा पाँचवटा पुलको ठेक्का लागेको थियो ।
अन्य दुई वटा पुलको निर्माण कार्य मङ्सिरसम्म सम्पन्न भइसक्ने मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताए । ठाडोखोला पुल निर्माण कार्य ८५ प्रतिशत र हाँडीखोला पुल ६३ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिर्दे उनले स्थानीय सरकारको आन्तरिक स्रोतबाट जनताका लागि ठुलो काम गर्न सकिएको बताए ।

