हेटौंडा अस्पताललाई पूर्ण सरकारी अस्पताल बनाउन कांग्रेसको माग

हेटौंडा टुडे
२ असार २०८१, शनिबार ०७:०८

हेटौंडा / हेटौंडामा रहेको पुरानो अस्पताल हेटौंडा अस्पताललाई प्रादेशिकस्तरको पूर्ण सरकारी अस्पतालको रुपमा विकास गर्न नेपाली काङ्ग्रेस मकवानपुरले माग गरेको छ ।

सरकारले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत् गाभेर अस्तित्व मेटाउन लागेको आरोप लगाउँदै कांग्रेस मकवानपुरले यस्तो माग गरेको हो ।

शुक्रबार हेटौंडा–२, स्थित कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सभापति बुद्ध लामाले संघीय कानुन अनुसार स्थापना भएर सञ्चालन भइरहेको हेटौंडा प्रादेशिक अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभेर अस्पतालको सम्पत्ति हड्प्ने तयारी भइरहेको बताएका छन् ।
प्रदेश सरकारले अलग्गै प्रादेशिक अस्पताल स्थापना गर्ने भन्ने अत्यन्तै गैरजिम्मेवारपूर्ण तथा प्रचलित कानुनविपरित निर्णय गरेकोप्रति कांग्रेस मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको छ ।’, सभापति लामाले उक्त निर्णय प्रति आपत्ति प्रकट गर्दै तत्काल कानुनविपरित भएको निर्णय खारेज गर्न आग्रह गरेका छन् ।

‘तत्काल निर्णय नसच्याए अस्पतालको अस्तित्व र सम्पत्तिको संरक्षणका लागि सवै राजनीतिक दल तथा नागरिक समाजसहितको सहकार्यमा अस्पतालको विकासको लागि हामी संघर्षका कार्यक्रमहरु घोषणा गर्न बाध्य हुनेछौं ।’, उनले भने ।

प्रदेश सरकारको शुक्रबार विहान बसेको मन्त्रिपरिषद्का वैठकले हेटौंडा अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने निर्णय गरेको थियो । सरकारले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत्को अस्पतालको रुपमा अगाडि बढाउन खोजिरहेको छ ।

कांग्रेस मकवानपुरले लामो समयदेखि हेटौंडा अस्पताललाई प्रतिष्ठान मातहतबाट हटाउनुपर्ने, हेटौंडा अस्पताललाई पूर्ण सरकारीस्तरको प्रादेशिक अस्पतालमा रुपान्तरण तथा प्रतिष्ठानले आफ्नै अस्पताल सञ्चालन गर्नुपर्ने माग राख्दै आएको छ

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image